काठमाडौं,
पुस ९ - प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीबीच चार बुँदे सहमति
भएको छ । उच्च स्तरीय राजनीतिक संयन्त्र, निर्वाचनमा धाँधलीको आरोपबारे
छानविन प्रक्रियाका लागि संसदीय समिति र सत्य निरुपण तथा मेलमिलाप र
बेपत्ता छानविन आयोग गठन गर्न दलहरु सहमत भएका छन् । अपरान्ह ३ बजे बस्ने
उच्च स्तरीय राजनीतिक समितिको बैठकबाट त्यसलाई औपचारिकता दिने र दलहरुबीच
हस्ताक्षर गरिने तय भएको छ ।
यसअघि उच्च स्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने/नदिने विषयमा दलहरुबीच कुरा मिलेको थिएन ।
कांग्रेस सभापति सुशील कोइरालाको आग्रहमा मंगलबार बिहान शान्तिकोषको
सचिवालय बबरमहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा दलहरु ६
महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने र एकवर्ष भित्र संविधान जारी
गर्ने विषयमा पनि सहमत छन् ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार निर्वाचनमा धाँधली बारे
संसदबाटै छानविन प्रक्रिया अघि बढाउने, उच्च स्तरीय राजनीतिक समिति बनाउने
सहमति भएको छ । राजनीतिक समितिको संयोजक को हुने बारे सहमति मौन छ ।
एमाअोवादीले अाफ्ना अध्यक्षा पुष्पकमल दाहाललाई स्थायी रुपमा राजनीतिक
समितिको संयोजक बनाइनुपर्ने भन्दै अाएको थियो ।१२ बुंदे समझदारी, विस्तृत
शान्ति सम्झौता र अन्तिरिम संविधानको भावना अनुरुप संघीय गणतन्त्र, धर्म
निरपेक्षतालाई संस्थागत गरी अघि बढनेमा दलहरु दृढ भएका छन् । एमाले नेता
रघुजी पन्तले तीन दलबीच भएको सहमतिलाई मधेसी दलहरुसँगको छलफलपछि अन्तिम
रुप दिइने बताए ।
दलहरुबीच भएको सहमतिसँगै समानुपातिकको सूची बुझाउने म्याद थपका लागि
निर्वाचन आयोगमा आग्रह गरिने सम्भावना पनि बढेको छ । दलहरू वार्ता र छलफलमा
केन्द्रित भएका कारण समानुपातिकतर्फको सूची बुझाउने म्याद केही दिन थप्नका
लागि आयोगसमक्ष आग्रह गर्ने सम्भावना रहेको बैठकपछि नेपाली काँग्रेसका
उपसभापति रामचन्द्र पौडेलले बताए ।
यी हुन् ४ बुँदे सहमति
१) संविधानसभाको निर्वाचनमा उठेका प्रश्नहरुको सम्बन्धमा अध्ययन अनुसन्धान
गरी सुझाव पेस गर्न व्यवस्थापिका संसदले एक संसदीय समिति गठन गर्ने ।
२) बेपत्ता छानविन तथा सत्यनिरुपण आयोग गठन लगायत शान्ति प्रक्रियाका
बाँकी काम सम्पन्न गर्न र संविधानमा सहयोग गर्न प्रमुख दलका शीर्ष नेता
रहेको उच्च स्तरीय राजनीतिक समिति गठन गर्ने ।
३)बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पहल गर्ने ।
४) १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको भावना बमोजिम ६ महिना
भित्र संविधानको मस्यौदा र एक वर्षभित्र जारी गर्ने कार्यविधि तयार गर्ने ।
Home »
» तीन दलबीच चार बुँदे सहमति

0 comments:
Speak up your mind
Tell us what you're thinking... !